पीएम कप: आर्मीको शानदार जित

ओकेखबर संवाददाता १४ माघ २०८०, आईतवार १५:१७ मा प्रकाशित ( महिना अघि) ८८ पाठक संख्या

काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि शानदार जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले कर्णालीलाई १ सय ६४ रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा ७ खेलमा आर्मीको यो पाँचौं जित हो भने ८ खेलमा कर्णालीको चौथो पराजय हो ।

आइतबारको खेलमा २ सय ८० रनको लक्ष्य पछ्याएको कर्णालीले २९ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रनमात्र बनाउन सक्यो ।

 

कर्णालीका लागि हिमान्शु शाहीले सर्वाधिक १९ रन बनाए । आर्मीका कुशल मल्ल र विवेक यादवले समान ३-३ तथा सोमपाल कामीले २ र शहाब आलमले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७९ रन बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले १ सय ३२ बलमा ६ चौका र ३ छक्काको मदतमा १ सय रन बनाए ।

 

जारी प्रतियोगितामा विनोदको यो दोस्रो शतक हो । यसअघि उनले मधेश प्रदेशविरुद्ध १ सय १३ रन बनाएका थिए ।

बसिर अहमदले ९२ बलमा ९८ रन जोड्दा १२ चौका र १ छक्का हिर्काए । कर्णालीका लागि दिपेन्द्र रावतले सर्वाधिक २ विकेट हात पारे ।


सम्बन्धित खबरहरु