फोनमा ठूलो आवाजमा कुरा गरेको निहुँमा विवाद हुँदा हत्या, अभियुक्त ९ वर्षपछि पक्राउ

ओकेखबर संवाददाता १६ बैशाख २०८१, आईतवार १९:४२ मा प्रकाशित ( हफ्ता अघि) १६ पाठक संख्या

काठमाडौँ । फुपूको छोरीको हत्या गरी फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ९ वर्षअघि फुपूको छोरीको हत्या गरी फरार रहेका अभियुक्त समरबहादुर सार्कीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरिएको हो । अभियुक्तलाई काठमाडौँस्थित चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको हो । अभियुक्त सार्कीले मिति २०७१ साल असोज ३१ गते फुपूको छोरीको हत्या गरी फरार भएका थिए । फुपूको छोरी २३ वर्षीया सुनमाया किसान (सार्की) को हत्या गरी शौचालयमा फालिएको अवस्थामा कार्तिक १ गते शव फेला परेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार म्याग्दी जिल्ला तत्कालीन कुहु गा.वि.स. वडा नं.५ स्थायी घर भएकी सुनमाया किसान काठमाडौं जिल्ला तौथलीमा आफ्नो मामा गंगाबहादुर सार्कीसँग कुष्ठरोग आरोग्य आश्रममा बस्ने गरेकी थिइन् ।

कीर्तिपुर कृषि कार्यालयमा जेटिएको रुपमा कार्यरत रहेकी उनको कोठामा मामाका छोरा समरबहादुर सार्की २०७१ साल असोज ३१ गते बुबा भेट्न आएका थिए । सोही राती खाना खाएर सुत्ने तरखरमा रहँदा सुनमायाले फोनमा ठूलो आवाजमा कुरा गरेपछि भएको विवादका क्रममा उनको हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक सुरक्षा केसीले जानकारी दिए ।

अभियुक्त हत्या गरेर भोलिपल्टै भारततर्फ प्रवेश गरेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु