आजदेखि पाँच दिनसम्म तराईका जिल्लामा तातो हावाको लहर चल्न सक्ने

ओकेखबर संवाददाता १६ बैशाख २०८१, आईतवार ०८:२६ मा प्रकाशित ( हफ्ता अघि) १६ पाठक संख्या

काठमाण्डाै – तराई मधेशका जिल्लामा आजदेखि पाँच दिनसम्म अत्याधिक गर्मी र हिट वेभ अर्थात् तातो लहरको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन निकालेर आजदेखि आउँदो २१ गतेसम्म पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट वेभ) चल्न सक्ने चेतावनी दिएको हो ।

दक्षिणी भूभागमा पर्ने चितवन र नवलपरासी पश्चिममा भने तातो लहरको जोखिम कम छ । भित्री मधेश तथा पूर्वी नेपालको दक्षिणी भागका जिल्लामा पनि अत्याधिक गर्मी हुने छ । विभागले लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन गरिसकिएको जनाएको छ । प्रि–मनसुनमा लामो समय पानी नपरेका कारण गर्मी अत्याधिक बढेको हो ।

विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नदेखिन, हलुका र सुतीका लुगा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटक–पटक पानी तथा झोल पदार्थ पिउन सुझाव दिएको छ ।


सम्बन्धित खबरहरु