कांग्रेसकाे नाराबाजीपछि प्रतिनिधि सभाकाे बैठक स्थगित

ओकेखबर संवाददाता २८ बैशाख २०८१, शुक्रबार १८:३६ मा प्रकाशित ( हफ्ता अघि) ८८ पाठक संख्या

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे नाराबाजीपछि प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे छ । कांग्रेसले नाराबाजी गर्दै अवराेध गरेपछि सभामुख देवराज घिमिरेले आउँदाे जेठ १ गते बेलुकी ६ बजे बस्ने गरी स्थगित भएकाे घाेषणा गर्नुभएकाे हाे ।

आजकाे बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहे/नरहेको बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै निरन्तर नाराबाजी गरेकाे थियाे । हिउँदे अधिवेशनमा पनि कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको थियो । तर सत्ता पक्ष दलहरू समिति गठनमा सहमत भएका छैनन् ।

आज प्रतिनिधि सभाको बैठक शुरू हुनेबित्तिकै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत विपक्षी दलका सांसदले विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद गगन थापालाई बोल्न समय दिनुभयो । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले सहकारी ठगीमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिने पर्याप्त प्रमाण भएकाले छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो ।

सरकारले नै निहुँ खोजेकाले छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने कांग्रेस महामन्त्री थापाले बताउनुभयो । थापाले बोलिसकेपछि सभामुख घिमिरले संसद्को काम कारबाही अघि बढाउन खोज्नुभएको थियो । त्यसपछि कांग्रेस सांसदले ‘बेल’ घेराउ गरेर नाराबाजी गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभएकाे थियाे ।

सङ्घीय संसद्को बर्खे अर्थात् बजेट अधिवेशन आजदेखि शुरु भएकाे हाे । सभामुख देवराज घिमिरेले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएसँगै बजेट अधिवेशन शुरु भएको हो । सरकारले जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि जेठ १ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारले निर्णय गरिसकेको छ ।


सम्बन्धित खबरहरु