संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि दलहरु सहमत : क्षेत्राधिकार तोक्न कार्यदल गठन

ओकेखबर संवाददाता ६ जेष्ठ २०८१, आईतवार ०७:०२ मा प्रकाशित ( महिना अघि) ९८ पाठक संख्या

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखककाअनुसार छानबिन समितिको कार्यादेश अर्थात् टिओआर आज बिहानको छलफलपछि टुङ्गो लाग्नेछ ।

छानबिन समितिको कार्यादेश निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेता बसेर त्यसलाई मूर्तरुप दिने तयारी छ । गिरिको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परिवार, एमाले प्रमुख सचेतक महेस बर्तौला र राष्ट्रिय स्वजतन्त्र पार्टीका सांसद शिशिर खनाल सम्मिलित कार्यदल गठन भएको छ ।

छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आजको संसद् बैठक सहजरुपमा अघि बढ्ने विश्वास गरिएको छ ।

आज संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । छानबिन समिति गठन गर्ने विषयमा यसअघि चरणवद्ध रूपमा छलफल भएको थियो । हिजो पनि शुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरे, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए ।

सभामुखसँगको छलफलपछि प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गरेका थिए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले यसअघि संसद्मा निरन्तर अवरोध गर्दै आएको थियो ।


सम्बन्धित खबरहरु