कांग्रेसले बुधबार नै ३ मन्त्री नियुक्ति गरिसकेको छ । आज कांग्रेसले जिम्मेवारीसहित सुरजचन्द्र लामिछाने, प्रभात तामाङ, मीनकृष्ण महर्जन र विमल ठकुरीलाई मन्त्रीको शपथग्रहण गराउने गरी साँझ साढे ५ बजेको समय निर्धारण गरेको थियो ।
सोहीअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मन्त्रीको शपथका लागि प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिएको थियो । प्रदेश प्रमुख कार्यालयले मन्त्रीको शपथका लागि कार्यभार तोके अनुसार पत्रसमेत तयार गरेको थियो । पत्रसहित शपथग्रहणका लागि हलमा प्रवेश गर्ने तयारी गर्दै गर्दा विवाद भएपछि कार्यक्रम रोकिएको थियो ।
प्रदेश प्रमुख कार्यालयले तयार गरेको पत्र अनुसार बिहीबार नियुक्त भएका ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालय र महर्जनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका थिए ।
त्यस्तै, बुधबार नियुक्त भई शपथ गरेका कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का र मदु कुमार श्रेष्ठको जिम्मेवारी समेत तोकिएको थियो । जसमा काफ्लेले सामाजिक विकास मन्त्रालय, खड्काले खानपाने ऊर्जा तथा सिँचाई मन्त्रालय पाउने गरी जिम्मेवारी तोकिएको थियो भने श्रेष्ठको जिम्मेवारी पछि तोकिने गरी विना विभागीय मन्त्री बनाउने तय भएको थियो ।
उक्त निर्णयमा काफ्ले र श्रेष्ठले असहमति जनाएपछि शपथग्रहण कार्यक्रम भाँडियो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भएपछि काफ्ले मन्त्री पदमा नरहने निर्णयमा पुगेका थिए । उनले पदबाट राजीनामा दिने बताएका थिए । सरकार गठन ताका भौतिक पूर्वाधार विकास मन्त्रालयमा आकाङ्क्षा राखेका काफ्लेले भागबन्डामा सो मन्त्रालय एमालेको भागमा परेपछि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको थियो । कांग्रेस एमाले बिच भौतिक र आर्थिक मन्त्रालय साटफेर भएपछि काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने पक्कापक्की भएको थियो । तर, बिहीबार आर्थिक मामिला मन्त्रालयमा प्रभात तामाङको नाम फाइनल भएपछि उनको भागमा सामाजिक विकास मन्त्रालय पारिएको थिए ।
यता विना विभागीय मन्त्री रहने निश्चित भएका श्रेष्ठले जिम्मेवारी नतोकेसम्म अघि बढ्न नहुने अडान कायम राखे । जिम्मेवारी तोकेर अघि बढ्नु पर्ने उनको माग पछि मन्त्रीहरूको शपथग्रहण थप अन्योलमा परेको थियो ।
मन्त्री श्रेष्ठका अनुसार आकाङ्क्षी धेरै भएकाले कांग्रेसमा मन्त्री नियुक्तिमा केही असहज भएको हो । मन्त्रीहरूको कार्यक्षेत्र निर्धारणका विषयमा कसैको पनि निर्धारण नभएको उनले बताए ।