हवाई उडान सञ्चालन नहुँदा जिल्ला अस्पताल हुम्लामा औषधि पुगेन

ओकेखबर संवाददाता ७ जेष्ठ २०८१, सोमबार २१:१६ मा प्रकाशित ( महिना अघि) १३९ पाठक संख्या

हुम्ला – जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गए पनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको छ । १५ शय्याको जिल्ला अस्पतालमा गएको वैशाखदेखि औषधि अभाव छ ।

रुघाखोकी, झापापखालालगायत रोगका औषधि वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निःशुल्क औषधिसमेत नभएको खार्पुनाथ गाउँपालिका–३ रायाका धनबहादुर टमटाले गुनासो गर्नुभयो । बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा बसेको भन्दै डाक्टरले लेखिदिएको औषधि निजी मेडिकलबाट किन्नुपरेको उहाँले बताउनुभयो । चार हजार रुपैयाँसम्मको औषधि निजी मेडिकलबाट किनेको भन्दै टमटाले अस्पतालमा भिटामिनसमेत नभएको गुनासो गर्नुभयो ।

वैशाखयता अस्पतालमा बिरामीको चाप बढेको मेडिकल अफिसर तथा डाक्टर सुर्जनकुमार सिंहले बताउनुभयो । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उहाँको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले हवाई उडान नभएकाले खरिद गरेर हुम्ला ल्याइने औषधि नेपालगञ्जमा थन्किएकाले समस्या भएको बताउनुभयो । अबको एक÷दुर्ई दिनमा हवाई उडान सञ्चालन भएमा नेपालगञ्जमा थन्किएका औषधि ढुवानी भएर यहाँ आइपुग्ने प्रमुख सिंहले बताउनुभयो ।


सम्बन्धित खबरहरु