फूलमा आत्मनिर्भर बन्दै नेपाल, भारतबाट आयात गर्न प्रतिबन्ध

ओकेखबर संवाददाता १६ कार्तिक २०८०, बिहीबार ०८:१७ मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या

काठमाडाैं। यस वर्षको तिहारलक्षित गरेर भारतीय फूल आयातमा सरकारले प्रतिबन्ध लगाएको छ । मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले १ कात्तिकदेखि अर्को सूचना जारी नभसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो ।

तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयात रोकेको केन्द्रकी प्रवक्ता सिर्जना पौडेलले जानकारी दिइन् ।

विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता थियो । तर, यसपल्ट नेपालमै पुष्पखेती राम्रो भएकाले फूल आयात आवश्यक नदेखिएको उनको भनाइ छ । यस वर्ष तिहारमा करिब ४० लाख सयपत्री माला खपत हुने अनुमान गरिएको छ । त्यस्तै, चार लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार मिक्स माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन संघका अध्यक्ष मीनबहादुर तामाङले बताए । गत वर्ष कोभिड– १९ को समयमा पनि करिब ३५ लाख माला खपत भएको थियो ।

गत वर्षको भन्दा यस वर्ष मालाको मूल्य पनि बढ्ने तामाङले बताए । उनका अनुसार यस वर्ष प्रतिमाला २५ रुपैयाँ वृद्धि हुने अनुमान छ । सयपत्री मालाको खुद्रा मूल्य ७५ रुपैयाँदेखि १५० रुपैयाँसम्म पर्ने तथा मखमली मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने देखिएको छ । मिक्स माला होलसेलमा तीन सय र खुद्रामा पाँच सय रूपैयाँसम्म पर्न जाने एसोसिएसनका अध्यक्ष तामाङले बताए । यस्तै, गोदावरी फूलको मालामा भने एक हजार रुपैयाँबाट सुरु भएर तीन हजार रूपैयाँसम्म पर्न सक्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।


सम्बन्धित खबरहरु