चिनीको प्रतिकिलो ११५ भन्दा बढी मुल्य लिए उजुरी गर्न संघको आग्रह

ओकेखबर संवाददाता ३ कार्तिक २०८०, शुक्रबार ०९:२४ मा प्रकाशित ( महिना अघि) ४७ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको नेपाल खुद्र व्यापार सङ्घले जनाएको छ ।

सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीका अनुसार अस्ति बुधवार प्रति बोरा ५० किलोका ३ सय ८५ बोरा चिनी बजार पठाइएको छ । हिजो ३ सय ८२ बोरा चिनी गएको र थप चिनी आज बजारमा जाने शाहीले जानकारी दिए ।

बजारमा चिनीको अभाव भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर पेय पदार्थहरूका लागि खरिद गरिएको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको हो ।

विभागसँगको समन्वयमा नेपाल खुद्रा व्यापार सङ्घले चिनी बिक्री गर्न थालेको हो । बजारमा गएको चिनीको मूल्य किलोको ११५ रुपैयाँ तोकिएको छ । तोकिएकोभन्दा बढी मुल्य लिए विभागमा उजुरी दिन उपभोक्तालाई आग्रह गरिएको छ ।

बजारमा पेयपदार्थका लागि उद्योगीसँग मौज्दातमा रहेका चिनी पठाउन थाले पनि ढुवानी भाडा बढी लाग्न थालेपछि बिक्रेताहरुले बिक्री गर्न रुचि देखाएका छैनन् । यसले गर्दा सबै उपभोक्तामाझ चिनी पुर्याउन भने समस्या देखिएको विभागले जनाएको छ ।


सम्बन्धित खबरहरु