अमेरिकामा अलपत्र नेपाली उद्धारको लागि मिति र भाडारद तय

ओकेखबर संवाददाता २ असार २०७७, मंगलवार ०९:५८ मा प्रकाशित ( साल अघि) ६१४ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अलपत्र नेपालीहरुलाई यही असार ९ र ११ गते उद्दार गरिने भएको छ ।

अमेरिकास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा असार ९ र ११ गते २(२ वटाका दरले ४ वटा उडानमार्फत उद्दार गर्न लागिएको जानकारी दिएको हो ।


दूतावासका अनुसार ९ गते न्यूयोर्कबाट टर्किस एअरलाइन्स र वाशिङटनबाट कतार एअरवेजले नेपाली लिएर काठमाण्डौ उडान भर्नेछन् । यस्तै १३ गते शिकागोबाट टर्किस एअरलाइन्स र ड्यालसबाट कतार एअरवेजको उडान गरिने छ ।

यसको लागि भाडा भने यात्रु स्वयंले नै तिर्नुपर्ने जनाइएको छ । टर्किस एअरलाइन्सले १५ सय ३७ डलर अर्थात १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ तथा कतार एअरवेजले १६ सय डलर अर्थात १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा तोकेको छ ।

नेपाल फर्कन चाहनेहरुले भरेको अनलाइन फारमको आधारमा प्राथमिकता अनुसार उनीहरुलाई नेपाल पठाइने दूतावासले जनाएको छ ।

नेपाल फर्कनको लागि पासपोर्ट र अन्य ट्राभल डकुमेन्ट र पीसीआर या आरडीटी विधिबाट जाँच गरी कोरोना नलागेको प्रमाणपत्र अनिवार्य गरिएको छ ।


सम्बन्धित खबरहरु