चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

ओकेखबर संवाददाता १८ बैशाख २०८१, मंगलवार २०:०० मा प्रकाशित ( हफ्ता अघि) ४२ पाठक संख्या

काठमाडौँ । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रीय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ ।

मंगलवार केन्द्रीय तथ्यांक कार्यालयले पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा देशको अर्थतन्त्र करिब ४ प्रतिशतले बिस्तार हुने अनुमान गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले सार्वजनिक गरिएको तथ्यांकले अर्थतन्त्रका सूचकाङ्क सकारात्मक रहेको संकेत गरेको बताए । उनले चालु आर्थिक वर्षको ६ देखि ८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा कार्यालयले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर सार्वजनिक गरिएको बताए ।

उनले चालु आर्थिक वर्षमा अधिकांश अर्थतन्त्रका सूचकहरू सकारात्मक भएपनि केही क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए । उनले चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धि अनुमान विगतको तुलनामा सकारात्मक रहेको पनि बताए ।

उनले भने ‘विगतको भन्दा चालु आ.वमा राम्रो प्रगतिमा छौं । चालु आर्थिक वर्ष २०८०/०८१ का अनुमान विगतको भन्दा अगाडि छौं । संशोधित अनुमानमा प्रोग्रेसिव छ । अर्थतन्त्रका केही क्षेत्रहरू सुधार गर्नुपर्ने छ । चालु आवमा अधिकांश अर्थतन्त्रमा क्षेत्रहरू सकारात्मक भएर आएका छन् । मुलुकको लागि राम्रो हो । अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका छन् ।’

सरकारले चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट ल्याएको थियो । तर बजेको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्यून हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देलले सरकारले गत वर्षको भन्दा चालु आ।व।को भन्दा बढी दरले आर्थिक वृद्धि हुने अनुमान गरेको बताए ।

गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत भएको बताए । उनकाअनुसार हालसम्म प्राप्त अनुमानहरूको अध्ययनविश्लेषण गर्दा अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ । जसअनुसार आधारभूत मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले बिस्तार हुने देखिएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशतले हुने बताए ।

गत वर्ष देशको अर्थतन्त्र उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधार मूल्यमा २.१६ प्रतिशतले बिस्तार भई आकार (उपभोक्ता मूल्यमा) ५३ खर्ब ४८ अर्ब पुगेको थियो । गत वर्षको संशोधित आर्थिक वृद्धिदर (आधारभुर मूल्यमा) २.३१ प्रतिशत रहेको छ । उहाँले आधारभूत मूल्यमा ५० खर्ब ५० अर्ब पुगेको उल्लेख गरे ।

कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ । केन्द्रीय तथ्यांक कार्यालयले चालु आवमा कुल मूल्य अभिवृद्धि वृद्धिदर प्राथमिक क्षेत्रको ३ प्रतिशत द्वितीय क्षेत्रको १.२ प्रतिशत र सेवा क्षेत्रको ४.५ प्रतिशत रहने जनाएको छ ।


सम्बन्धित खबरहरु