विश्वकप खेल्ने नेपाली टोली परिवर्तन गर्न आईसीसी सकारात्मक, सन्दीपलाई टोलीमा समेटिँदै

ओकेखबर संवाददाता ४ जेष्ठ २०८१, शुक्रबार ०७:०८ मा प्रकाशित ( महिना अघि) ११० पाठक संख्या

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप टोलिमा राख्न आईसीसी सकारात्मक देखिएको छ।

नेपाल क्रिकेट संघ क्यानले टोलीमा परिवर्तन गर्न गरेको प्रस्तावमा आईसीसीले सकारात्मक जवाफ दिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।
‘आईसीसीले ग्रिन सिंग्नल दिइसकेको छ। मैले विश्वकपका लागि खेलाडी छनोट समितिलाई सूची परिमार्जन गर्न भनिसकेको छु। समितिले सन्दीपलाई १५ जनाको सूचीमा राख्ने गरी सिफारिस गर्छ’, अध्यक्ष चन्दले भने।
टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुनेछ।

त्यसका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। तर यहीबिचमा सन्दीपविरुद्धको बलात्कार मुद्दामा फैसला भएपछि र उनले सफाई पाएपछि उनी पनि विश्वकप खेल्ने भएका हुन्।
त्यसका लागि उनलाई मुख्य सूचीमै समावेश गर्न लागिएको हो।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा दक्षिण अफ्रिका, श्रीलंङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ ।

यसअघि टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।


सम्बन्धित खबरहरु