सार्वजनिक सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको संबोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको संबोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायत ८ बुँदा छन् ।
यस्तै संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । बैठकमा कांग्रेसका सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ लगायतका नारा लगाएका थिए ।
प्रतिपक्षको अवरोधकाबीच सभामुख देवराज घिमिरले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । उनले गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएका थिए । तर कांग्रेसका सांसद विरोधमा उत्रिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।