रुसी सेनामा कार्यरत १६ नेपालीको मृत्यु पुष्टि, २७२ जना अझै सम्पर्कविहीन

ओकेखबर संवाददाता १३ फाल्गुन २०८०, आईतवार १०:१६ मा प्रकाशित ( महिना अघि) ७८ पाठक संख्या

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सरकारले १२ जनाको मृत्यु भएको बताइरहेका वेला रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको ‘पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियान’ले १६ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो ।

 

अभियानको सम्पर्कमा आएका पीडित परिवारजनले रुसबाटै पाएको मृत्युको सूचनाका आधारमा हालसम्म १६ जना आफन्तको काजक्रिया गरेको बताएका छन् । अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । यस्तै एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेको अभियानको दाबी छ ।

 

सम्पर्कविहीन हुनेहरुमा मकवानपुररका विजयबहादुर थोकर, मधुवालिया–९, रूपेन्द्रेहीका प्रेमप्रकाश न्यौपाने, खोटाङका क्षितिज बस्नेत, पञ्चपुरी नगरपालिका–४, सुर्खेतका लक्ष्मण विष्ट, सुरुङ्गा–२, सप्तरीका सन्दीप दाहाल, धनुषाका विमलकुमार गजमेर, रामकृष्णा अधिकारी र भीम विक लगायत रहेका छन् । उनीहरु गत कात्तिक महिनादेखि परिवारसँग सम्पर्कविहीन छन् ।

 

अभियानकी संयोजक कृतु भण्डारीले रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण सङ्कलन थालेको बताए । सम्पर्कमा आएका पाँच सय ३१ जनामध्ये एक सय २७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् ।

 

उनीहरू अहिले पनि रुसी सेनामा कार्यरत छन् । रुसी सेनामा रहेका एक हजारभन्दा बढी युवाका परिवार अनौपचारिक रुपमा आफ्नो सम्पर्कमा आएको भण्डारीले बताए । यसैबीच रुसी सेनामा ज्यान गुमाएका युवाका परिवाजनले हिजो बेलुका पशुपतिनाथ परिसरमा रहेको भश्मेश्वरघाटमा दीप प्रज्वलन गरेका छन् । ज्यान गुमाएका युवाको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको परिवारजनले बताएका छन् ।

 

अभियानले रुसी सेनामा रहेकाहरुको सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख गर्दै परराष्ट्र मन्त्रालय, काठमाडौमा रहेको रुसी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय, विभिन्न राजनीतिक दलका कार्यलयमा ध्यानाकर्षण गराइसकेको छ । यद्यपी सरकार भने त्यहाँ घाइते र बेपत्ता हुने नेपालीका बारेमा मौन छ ।

 


सम्बन्धित खबरहरु