विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

ओकेखबर संवाददाता १८ बैशाख २०८१, मंगलवार १९:५३ मा प्रकाशित ( हफ्ता अघि) ३६ पाठक संख्या

काठमाण्डाै – नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्यान्ड, रोमानिया, सर्बिया, क्रोएशियालगायतका देशमा पठाउने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी धादिङकाे धुनीबेसी नगरपालिका–४ घर भएका रमेश बयलकोटी र कालीकोट घर भएका दर्शन नेपालीलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पठाउने भनी चार सय २२ जनालाई ठगी गर्ने गिरोहमा संलग्नहरू पक्राउ परेका बताउनुभयो । उनीहरूले प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँसम्म खर्च लाग्ने बताउने गरेको र शुरुमा ५० हजारदेखि तीन लाख रुपैयाँ लिने र भिसा आएपछि अन्य रकम दिने भनी कर्मचारी खटाई रकम लिने गरेको खुलेको उहाँले बताउनुभयो । उनीहरूले चार सय २२ जनाबाट झन्डै तीन करोड रुपैयाँ रकम उठाएको हुनसक्ने अनुमान छ ।

कार्यालयले हिजो कतारबाट काठमाण्डौ आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गर्ने दुई जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । एसएसपी भट्टराईले पक्राउ पर्नेमा सर्लाहीकाे मलङ्गवा नगरपालिका–३ का २५ वर्षका अजिम अली र वर्ष २५ कै एमडी शनि अलाही रहेका बताउनुभयो । प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाएको छ ।


सम्बन्धित खबरहरु