विश्वमा सूचना प्रविधिको विकास तीव्र भए पनि सरकार भने पछि पर्दै

ओकेखबर संवाददाता २० बैशाख २०८१, बिहीबार १९:०२ मा प्रकाशित ( हफ्ता अघि) ४३ पाठक संख्या

काठमाण्डाै – सरकारले सूचना प्रविधिमा नागरिकको सरल र सहज पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उपयोग बढाउने प्रतिबद्धता जनाए पनि कार्यान्वयन सुस्त रहेको छ ।

शासन, विकास र सेवा प्रवाहका विविध आयामहरूलाई सूचना तथा सञ्चार प्रविधिसँग आबद्ध गर्दै विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारले जोड दिएको दाबी गरेको छ । तर निजी क्षेत्रले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य फड्को मार्दा सरकार भने पछि परेको छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवम् प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको दाबी गरेको छ । तर विश्वमा प्रयोग हुँदै आएका कृत्रिम बाैद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई), क्लाउड कम्प्युटिङ, आईओटी, ब्लकचेन जस्ता नयाँ तथा परिवर्तनकारी प्रविधिको विकास र विस्तारमा सरकारको चासो छैन । संसारका कैयौँ देशले एआईको विकास र विस्तारमा ठूला योजना र अर्बाैँ डलर लगानी गरिरहँदा नेपाल सरकारले भने एआईको क्षेत्रमा अहिलेसम्म न कुनै लगानी गरेको छ, न त योजना नै बनाएको छ ।

विशेष गरेर कृषि, शिक्षा, स्वास्थ्य र सुरक्षामा एआईको महत्त्व र प्रयोग बढ्दै गएको छ । एआईका कारण काममा तीव्रता, सरलता, मानवीय संलग्नता कम गरेर लागत घटाउन सकिने, प्रतिफल बढाउन सकिने लगायतका फाइदा छन् । तर सरकारले भने यो विषयमा हात हाल्न सकेको छैन ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज काठमाण्डाैमा भएको कार्यक्रममा उहाँले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य शुरु गरिएको जानकारी दिनुभयो  ।

प्रधानमन्त्रीले देशभित्रै केही गर्न चाहने युवाका निम्ति नयाँ अवसर सिर्जना गरिने स्पष्ट बताउनुभयो । सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ अर्थात् मुख्य तत्त्वका रूपमा स्वीकार गरेर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले युवा वर्गमा पनि सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ भन्ने विश्वास लगाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । देशमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिन्छ ।

 


सम्बन्धित खबरहरु