काठमाण्डाैमा वायु प्रदूषण बढ्यो, मास्क लगाउन मन्त्रालयकाे आग्रह

ओकेखबर संवाददाता १८ बैशाख २०८१, मंगलवार १९:५० मा प्रकाशित ( हफ्ता अघि) ५५ पाठक संख्या

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाण्डाैमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाण्डाैकाे वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाण्डाैमा वायु प्रदूषण अत्यधिक रहेकाले सकेसम्म घरबाहिर ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गर्नुभयो । विश्वभरिको वायु प्रदूषणको अवस्था मापन गर्ने ‘वर्ल्ड एअर क्वालिटी इन्डेक्स’ अनुसार काठमाण्डाैकाे वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ ।

‘वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ’, प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा वायु प्रदूषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्याङ्क छ ।

नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकी बताउनुहुन्छ । गर्मी समयमा तराईमा तातो हावा बहने र ‘लू’ लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडहुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा खान मन्त्रालयकाे अनुरोध गरेको छ । गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबरहरु