२० देशमा राजदूत नियुक्त गर्ने तयारी, यस्तो छ सम्भावित नाम

ओकेखबर संवाददाता २१ फाल्गुन २०७८, शनिबार ०९:४१ मा प्रकाशित ( साल अघि) ६३६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २० देशमा राजदूत नियुक्त गर्ने तयारी गरेका छन् । उनले राजदुत नियुक्त गर्न परराष्ट्रमन्त्री डा. नारायण खड्का, साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग आन्तरिक छलफल थालेको पाइएको छ ।

गठबन्धनको पछिल्लो बैठकमा देउवाले प्रचण्ड, नेपाल र उपेन्द्र यादवलाई राजदूतको नाम दिन आग्रह गरेका छन् । परराष्ट्रमन्त्री नारायण खड्काका स्वकीय सचिव लीला भट्टराईकाअनुसार आगामी मन्त्रिपरिषद बैठकबाट राजदूत सिफारिस तयारी भइरहेको स्रोतले जानकारी दिएको बताए ।

उनले भने, ‘एमसीसी पारित गराउने वातावरण बनाउनतिर लागियो । यसले राजदूत नियुक्तिको प्रक्रिया रोकिएको थियो । अब पहिलो प्राथमिकताका साथ यो काम भइरहेको छ ।’

स्थानीय निर्वाचनमा चुनावी आचारसंहिता लाग्ने भएकाले अब केही दिनमै राजदूत नियुक्तिको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । उनले स्थानीय निर्वाचनअघि नै सबै देशमा राजदूत नियुक्त गरिने बताए ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएपछि प्रधानमन्त्री देउवाले राजदूत नियुक्तिको विषयलाई प्राथमिकता दिएका हुन् ।

नेपालका ९ वटा संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क, जेनेभा र भियना) र ३० देशमा दूतावास छन् । कुल ३० वटामध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । उनीहरु १० जना परराष्ट्र मन्त्रालयका करिअर राजदूत हुन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ ।

तीमध्ये केहीमा चार वर्षदेखि राजदूत पद रिक्त छ भने भने केहीमा केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक रुपमा नियुक्ति गरेका राजदूतहरुलाई फिर्ता बोलाएपछि पद रिक्त भएको थियो । राजनीतिक कोटाबाट १३ जना र परराष्ट्र सेवाबाट सात जनालाई राजदूत नियुक्ति गर्न लागिएको छ ।

जसमा चीन, श्रीलंका, दक्षिण कोरिया, म्यानमार, मलेसिया, डेनमार्क, इजिप्ट, ब्राजिल, साउदी अरेबिया, दक्षिण अफ्रिका, बहराइन, इजरायल, स्पेन, ओमान, अस्ट्रेलिया, कतार, बंगलादेश, जापान र भियनामा राजदूत नियुक्तिको तयारी भइरहेको छ ।

राजनीतिक कोटाबाट राजदूतका लागि माओवादी नेता लीलामणि पोखरेल र पूर्वराजदूत लीलामणि पौडेल दौडमा छन् । यस्तै सभामुख अग्नि सापकोटाका छोरा रूपक सापकोटाको पनि चर्चा छ । यस्तै, एकीकृत समाजवादीबाट डा. युवराज संग्रौला, प्रमेश हमाललगायतको नाम चर्चामा छ ।

यस्तै परराष्ट्र सेवाबाट सहसचिवहरु लोकबहादुर थापा, निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, हरिश्चन्द्र घिमिरे, तेजबहादुर क्षेत्री, सुशीलकुमार लम्साल, तीर्थराज वाग्ले, डोरनाथ अर्याललगायतको नाम चर्चामा छ ।

यस पटक माओवादी, एकीकृत समाजवादी र जसपालाई राजदूतका लागि देश रोज्न प्रधानमन्त्री देउवाले भनेको बताइएके छ । यसअघि सरकारले गत कात्तिकमा काँग्रेस निकट तीन जनालाई राजदूतमा बनाएको थियो ।

जसमा भारतका लागि अर्थविद् डा।शंकर शर्मा, अमेरिकाका लागि परराष्ट्र मामिला विज्ञ श्रीधर खत्री र बेलायतका लागि पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस भएका थिए ।


सम्बन्धित खबरहरु