नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

ओकेखबर संवाददाता २० चैत्र २०७६, बिहीबार १६:५८ मा प्रकाशित ( साल अघि) ५६२ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ६ पुगेको छ । नेपालमा छैटौं कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।

छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको बताइएको छ ।

ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन ।

पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।

दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।

तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


सम्बन्धित खबरहरु