धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै

ओकेखबर संवाददाता ५ बैशाख २०८१, बुधबार १०:१७ मा प्रकाशित ( हफ्ता अघि) १९ पाठक संख्या

काठमाण्डौ – धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव अर्थात् फुड फेस्टिभल शुरु हुँदैछ । पर्यटन प्रवर्द्धनकाे  माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटा नगरपालिका–१ हिलेमा शुरु हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था हिले पर्यटन प्रर्वद्धन तथा पूर्वाधार विकास संस्था र होटल एशोसिएशन धनकुटाले जानकारी दिएको छ ।

‘रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय अर्गानिक मौलिक खानाको परिकार आकर्षणको रुपमा रहने संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताउनुभयो ।

महोत्सवमा कोदो, फापर र मकैको ढिँडो, कोदो र फापरको रोटी, गुन्द्रुकको अचार, सेलरोटी, सुकुटीलगायत स्थानीयस्तरमा पाइने मौलिक परिकारको स्टल रहनेछन् । महोत्सवमा आउने पाहुनाका लागि हिले आसपासका पर्यटकीय ठाउँ समेटेर चार हजार छ सय रुपैयाँ बराबरको भ्रमणको प्याकेज मिलाइएको वडा १ का अध्यक्ष वङ्दा तामाङले जानकारी दिनुभयो ।

महोत्सवमा ३० हजार पर्यटक भित्र्याएर एक करोड २५ लाख बराबरको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।


सम्बन्धित खबरहरु