इरानले इजरायलमाथि गरेको आक्रमणप्रति अमेरिका र उसका सहयोगी देशद्वारा निन्दा

ओकेखबर संवाददाता २ बैशाख २०८१, आईतवार १८:५० मा प्रकाशित ( हफ्ता अघि) ३२ पाठक संख्या

इरानले गए राति इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशले निन्दा गर्दै त्यो आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले इरानले इजरायलमाथि गरेको आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताउनुभएको छ । मध्यपूर्वमा ठूलो सैन्य मुठभेड निम्तन सक्ने कुनै पनि कार्यबाट जोगिन उहाँले सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा अधिकारीहरूसँगको आपत्कालीन बैठकपछि इजरायललाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । इरान र उसका सहयोगीहरूको खतराविरुद्ध इजरायलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता बाइडेनले दोहोर्‍याउनुभएको छ । तर इजरायलले अहिल्यै इरानमा आक्रमण गरेमा अमेरिका सहभागी नहुने उहाँले बताउनुभएको छ ।

फ्रान्स, जर्मनी, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया लगायतका अमेरिकाका सहयोगीले इरानको आक्रमणको विरोध गरेका छन् । यस्तै चीनको विदेश मन्त्रालयले आक्रमणलाई ‘गाजा द्वन्द्व’ को पछिल्लो बाछिटाको रूपमा चित्रण गर्दै संयमित हुन आग्रह गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन र कुटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको छ । साउदी अरेबियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी ‘सैन्य गतिविधि वृद्धि’ प्रति चिन्ता व्यक्त गरेको छ ।

गएको अप्रिल १ मा सिरियाकाे दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेर दुई जना इरानी कमाण्डरसहित १३ जनाको हत्या गरेपछि त्यसको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो । इजरायली सेनाले भने इरानले प्रहार गरेको तीन सय वटाभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन आकासबाटै खसालेको दाबी गरेको छ । इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले इरानले प्रहार गरेको केही क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका बताउनुभएको छ ।


सम्बन्धित खबरहरु