जाडोमा रुघाखोकीबाट बालबालिकालाई कसरी जोगाउने?

ओकेखबर संवाददाता १७ पुष २०८०, मंगलवार १८:४५ मा प्रकाशित ( महिना अघि) ४३ पाठक संख्या

काठमाडौं । चिसो मौसम घरमा नानीबाबु हुनेका लागि कष्टकर हुने गर्दछ। बच्चाहरुमा चिसोको असर धेरै देखिन्छ। उनीहरुलाई चिसोबाट जोगाउन अभिभावक सचेत हुनु पर्छ। चिसो मौसममा बच्चाहरुमा देखिने प्रमुख स्वास्थ्य समस्या रुघाखोकी हो। यसलाई मेडिकल भाषामा कमन कोल्ड भनिन्छ। जुन भाइरल इन्फेक्सन हो। यो भाइरसबाट सर्ने इन्फेक्सन हो।

झन्डै ९० प्रतिशत बालबालिका चिसोमा रुघाखोकी (कमन कोल्ड) बाट पीडित हुन्छन्। ५ वर्षमुनिका बच्चामा यो समस्या धेरै देखिने नेपाल नेशनल हस्पिटलका बालरोग विशेषज्ञ डा. सीएन शाहले बताए।गर्भावस्थाको समय पूरा नभई चाँडै जन्मिएका तथा जन्मेपछि भेन्टिलेटरमा धेरै दिन राखिएका बच्चाहरुमा कमन कोल्डको समस्या झन् धेरै देखिने डा. शाह बताउँछन्।

संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा बालबालिकामा रुघाखोकी सर्ने सम्भावना हुन्छ। रुघाखोकी संक्रमितले प्रयोग गरेका कलम, मोबाइल, किताब र कम्प्युटर आदिबाट पनि यो समस्या सर्न सक्ने शाह बताउँछन्।

कसरी जोगाउने?

  • बच्चाले केही असहज महसुस गर्ने, खान मन नगर्ने, नाकबाट सिंगान बग्ने, हाच्छिउँ आउने, नाक बन्द हुने र श्वास लिन गाह्रो महसुस हुने जस्ता लक्षण भए डाक्टरलाई देखाउने।
  • बच्चाको आमालाई रुघाखोकी लागेमा बच्चालाई स्तनपान गराउँदा साबुन पानीले हात धोई माक्स लगाएर मात्रै स्तनपान गराउने।
    अलिक ठूला बच्चाहरुलाई साबुन पानीले राम्रोसँग हात धुन लगाउनुपर्छ।
  • विद्यालय जाने बच्चाहरुलाई रुघाखोकी देखिए केही दिन भिडभाडमा जान नदिने।
  • स्कुल जानुपर्ने भएमा माक्स लगाएर पठाउने, नियमित सरसफाइमा ध्यान दिने।
  • धुँवाधुलोबाट जोगाउने।
  • कमन कोल्ड लागेका बच्चालाई हाइड्रेसन धेरै कायम राख्नुपर्ने हुन्छ। तातो—तातो झोल खानेकुरा धेरै खुवाउनु पर्छ।
  • खाना खाने उमेर नपुगेका बच्चाको हकमा आमाले चिसोयुक्त पदार्थ खानु हुँदैन। आमालाई चिसो लागे बच्चालाई सर्ने सम्भावना बढी हुन्छ, आलु, भण्टा, गाँजर, फर्सी, दही, अचार, चिसो, अमिलो र गुलियो धेरै खानु हुँदैन।
  • बच्चाका साथै आमाले धुँवा र धुलोबाट बच्नुपर्छ।
  • कमन कोल्ड भाइरल भएकाले आफैं निको हुने डा. शाह बताउँछन्। एक सातामा लाग्ने कमन कोल्ड निको नहुँदासम्म ख्याल गर्न उनले सुझाव दिएका छन्।

सम्बन्धित खबरहरु