प्रिमियर लिग : आर्सनल शीर्ष र सिटी दोस्रो स्थानमा यथावत्, आज तीन वटा खेल हुँदै

ओकेखबर संवाददाता २३ बैशाख २०८१, आईतवार ०८:४५ मा प्रकाशित ( हफ्ता अघि) २० पाठक संख्या

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा शीर्ष स्थानको आर्सनलले बर्नमाउथलाई ३–० ले हराएको छ । लिगमा आर्सनल ३६ खेलमा ८३ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । आर्सनलको जितमा बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड र डेक्लान राइसले गोल गरे ।

अर्को खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले उल्भ्स्लाई ५–१ ले हराएको छ । उसका फरवार्ड हालान्डले चार गोल गरे । जुलियन अल्भारेजले एक गोल थपे । उल्भ्स्का ह्वांग हिचानले एक गोल फर्काए । जितसँगै सिटी ३५ खेलमा ८२ अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ । शीर्ष स्थानमा रहेको आर्सनलले एक खेल बढी खेलेको छ ।

यस्तै गएराति नै भएका अरु खेलमा ब्रेन्टफर्ड र फुलहमले गोलरहित बराबरी खेलेका छन् । नटिङघम फरेष्टले सेफिल्डलाई ३–१ ले हराएको छ भने न्यूक्यासलले बर्नलीलाई ४–१ ले हराएको छ । प्रिमियर लिगमा आज तीन वटा खेल हुँदैछन् ।

नेपाली समयअनुसार बेलुका पौने ७ बजे चेल्सी र वेस्ट ह्याम तथा ब्राइटन र एस्टन भिल्ला खेल्दैछन् । त्यस्तै राति सवा ९ बजे लिभरपुल र टोटनहमबीच खेल हुनेछ । लिभरपुल ३५ खेलमा ७५ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।


सम्बन्धित खबरहरु