नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

ओकेखबर संवाददाता २३ बैशाख २०८१, आईतवार १८:३५ मा प्रकाशित ( हफ्ता अघि) १४ पाठक संख्या

काठमाण्डाै – उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्रीले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियाे बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताउनुभयो । ‘दुवै प्रतिनिधिमण्डलबीच विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो’, उहाँले भन्नुभयो ।

जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको श्रेष्ठले स्पष्ट पार्नुभयो ।

विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाण्डाै आइपुग्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि खामिखावाकाे यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उहाँले यसअघि काठमाण्डाै दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले उहाँको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नुहुनेछ ।


सम्बन्धित खबरहरु