ग्लोबल आईएमईद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ओकेखबर संवाददाता ९ पुष २०८०, सोमबार ०९:४१ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काडमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ । यही पुस १७ गते मङ्गलवारदेखि ग्लोबल आईएमई बैंक १७ औँ वर्षमा प्रवेश गर्दैछ ।

याे अभियानअन्तर्गत नेपाल परिवार नियोजन सङ्घसँगको सहकार्यमा सात वटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न लागेकाे बैंकले जनाएकाे छ । शिविरमा स्त्रीरोग विज्ञहरूले महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवा निःशुल्क रूपमा दिनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरिने र स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने विज्ञप्तिमा उल्लेख छ ।

यस अभियानअन्तर्गत बैंकले पुस ४ गते बुधवार सूदुरपश्चिमकाे बाजुरा जिल्लाको गौमुल गाँउपालिका–२ दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा एक सय ७० जना महिलाको स्वास्थ्य जाँच भएकाे थियो ।

यसैगरी बैंकले अरू छ वटा प्रदेशमा यही पुसमा शिविर सञ्चालन गर्नेछ । जसअन्तर्गत बाग्मती प्रदेशमा भरतपुर महानगरपालिका–८ काे गौरीगञ्ज स्वास्थ्य चौकी चितवनकाे शरदपुरमा पुस १३ गते, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाउँपालिका–३ पाल्पाकाे छहरा स्वास्थ्य चौकीमा पुस १७ गते, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेतकाे जर्बुट्टा स्वास्थ्य चौकीमा पुस १८ गते, गण्डकी प्रदेशमा अन्नपूर्ण गाउँपालिका–६ म्याग्दीकाे पोखरेबजार आधारभूत विद्यालयमा पुस २१ गते र कोशी प्रदेशमा इलाम नगरपालिका–४ इलामकाे मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको बैंकले जनाएकाे छ ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्धशहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।


सम्बन्धित खबरहरु