कतारले विपिन जोशी रिहा हुन्छन् भनेको छ : परराष्ट्रमन्त्री साउद

ओकेखबर संवाददाता १ पुष २०८०, आईतवार ०९:१४ मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलसँग युद्धरत प्यालेस्टिनी लडाकु समूह ‘हमास’ को नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा दुई पक्षबीच युद्धविराम तथा बन्धक रिहाइको पहल गरिरहेको कतारले आश्वस्त पारेको बताएका छन्।

दोहा फोरममा सहभागी भएर शनिबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री साउदले सो जानकारी गराएका हुन्। मन्त्री साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले विपिनको रिहाइका लागि सम्बन्धित पक्षसँग छलफल भइरहेको बताएको जानकारी गराए।

दोहा फोरमका क्रममा उनीसँगको द्विपक्षीय भेटवार्तामा कतारका प्रधानमन्त्रीले विपिन रिहा हुने विश्वास दिलाएकाे मन्त्री साउदले बताए। कतारका प्रधानमन्त्रीले हमासले विदेशी नागरिक र गैरसैनिक मुक्त गर्ने कुरामा आफू आश्वस्त रहेको भन्दै नेपाललाई पनि आश्वस्त हुन आग्रह गरेको मन्त्री साउदले बताए।

‘विदेशी र गैरसैनिक मुक्त गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग छलफल, कुराकानी गरिरहेको, मुक्त हुनेमा आश्वस्त रहेको र नेपाली बन्धक पनि मुक्त हुने कुरामा आश्वस्त रहनुस् भन्नुभएको छ,’ मन्त्री साउदले भने। हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा इजरायलमा अध्ययनका लागि गएका विपिन सम्पर्कविहीन भएका थिए। इजरायली सेनाले उनी अहिले हमासको नियन्त्रणमा रहेको बताएको छ।

मन्त्रीसाउदले युक्रेनसँग युद्धरत देश रूसको सेनामा नेपाली भर्नाबारे सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको भन्दै उनीहरूलाई नेपाल फिर्ताबारे कूटनीतिक पहल भइरहेको पनि बताए।

रूसी सेनामा नेपाली भर्नाका बारेमा नेपालले काठमाडौंस्थित रूसी राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर नेपालको धारणा स्पष्ट रूपमा राखेको उनले बताए। यस्तै यसबारे रूसस्थित नेपाली राजदूतलाई पनि जानकारी गराइएको उनको भनाइ थियो।


सम्बन्धित खबरहरु