बर्दियाका विवेक खत्रीलाई छाड्न युक्रेन तयार, तर राख्याे यस्ताे सर्त

ओकेखबर संवाददाता २७ मंसिर २०८०, बुधबार ०७:४६ मा प्रकाशित ( महिना अघि) ४७ पाठक संख्या

काठमाडाैं। युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री मात्रै युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ। तर, उनलाई नेपालमा पनि आपराधिक मामिलामा जेलमा राख्न नेपाल सरकार तयार भए मात्र रिहाइको प्रक्रिया अघि बढाउन सकिने सर्त राखेको छ।

नेपालले खत्री र काभ्रेका सिद्धार्थ ढकालको रिहाइका लागि कूटनीतिक प्रयास गरेकामा युक्रेन सरकारले यस्तो सन्देश पठाएको हो। उसले ढकालको गिरफ्तारीबारे भने अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार युक्रेनले रुसी सेनामा कार्यरत रहेका अन्य विदेशी नागरिक पनि आफ्नो नियन्त्रणमा रहेको र उनीहरू सबैलाई रिहा गर्नुपर्ने दबाब रहेको उल्लेख गर्दै नेपालीलाई मात्रै विनासम्झौता छाड्न नसकिने सन्देश पठाएको छ । ‘खत्रीलाई अपराधीका रूपमा नेपालले स्वीकार गर्ने र उनलाई जेलमा राख्ने सर्तसहित नेपाल र युक्रेनबीच समझदारीपत्र (एमओयू) हुनुपर्ने युक्रेनको प्रस्ताव आएको रहेछ । यसमा के गर्ने भन्ने निक्र्योल गर्न बाँकी छ,’ परराष्ट्रका एक अधिकारीले भने । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि यसबारे जानकारी गराइसकेको छ।

जानकार स्रोतका अनुसार रुसी सेनामा भर्तीका लागि नेपालीहरू रुस गएको विषयमा युक्रेनले असन्तुष्टि जनाएको छ । ‘उनीहरूले नेपालको नीति के हो भनेर सोधेका रहेछन्, नेपालले रुसी सेनामा भर्ती हुन निरुत्साहित गरेको र रुसलाई पनि भर्ती भएका नेपालीलाई फिर्ता गर्न आग्रह गरिसकेको जानकारी गराएको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘युक्रेनमा रुसले हमला गरेकामा नेपालले विरोध जनाएको, बेलायत र भारतमा बाहेक विदेशी सेनामा भर्ती गर्ने नेपाल सरकारको नीति नरहेको भनेर हामीले जवाफ दिएका छौँ ।’

बर्दियाका खत्री असोज अन्तिम सातादेखि र काभ्रेका ढकाल मंसिर दोस्रो सातादेखि युक्रेनी सेनाको नियन्त्रणमा छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।


सम्बन्धित खबरहरु