ललितपुरका यी स्थानमा ६ महिनाका लागि निषेधाज्ञा जारी

ओकेखबर संवाददाता ५ मंसिर २०८०, मंगलवार १९:५६ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

मंगलबारदेखि निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा बताइएको हो ।

आदेशमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित यु.एन. हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यु.एन हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।

उक्त आदेशमा उल्लेख गरिएको छ, ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मिति २०८० साल मंसिर ०५ गतेदेखि आगामी ६ महिना सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’

मन्त्री क्वार्टर आसपासको क्षेत्रमा यसअघि पनि निषेधाज्ञा कायम रहँदै आएकोमा यसपटक सो दायरालाई केही थपमात्र गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए ।


सम्बन्धित खबरहरु