करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु

ओकेखबर संवाददाता ५ मंसिर २०८०, मंगलवार ०८:०९ मा प्रकाशित ( महिना अघि) ५६ पाठक संख्या

काठमाडौं । कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा पोखरामा एक दम्पतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं २९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

मुस्ताङ स्थायी घर भई हाल पोखरा २९ बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए । दिउँसो करिब ४ बजे माछा मार्नका लागि तार बिछ्याउने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो ।

पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले जलकुम्भी कुलो भनिने उक्त कुलोमा बेलाबखत मानिसहरु माछा मार्ने गरेकोमा सोमबार अप्रिय घटना घटेको भन्दै दुःख व्यक्त गरे । अहिले मृतकका शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा राखिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु