तीन हजार मेट्रिकटन चिनी बजारमा पठाइयो

ओकेखबर संवाददाता १७ कार्तिक २०८०, शुक्रबार ०८:२९ मा प्रकाशित ( महिना अघि) ३० पाठक संख्या

काठमाडौं । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।

गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले जानकारी दिए । आज काठमाडौँका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइनेछ ।

सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो एक सय १७ बिक्री गर्नेछन् । सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना प्रत्येक पसलमा टाँस गर्न व्यवसायीलाई आग्रह गरिएको उनको भनाइ छ । काठमाडौँ उपत्यकामा एक हजार सात सय बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन् । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्नेछ ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको विभागका महानिर्देशक चिलुवालले जानकारी दिए । बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको मौज्दात अवस्था जाँच गर्ने र मौज्दात चिनी बजारमा पठाउन उद्योगीसँग छलफल गर्ने, अवैध ढङ्गले भित्रिएका वा गोदाममा थन्किएको चिनीको खोजीका लागि अनुगनम गर्ने निर्णय बैठकले गरेको हो ।


सम्बन्धित खबरहरु