सार्वजनिक ऋण साढे २३ खर्ब नाघ्यो, प्रत्येक नेपालीको थाप्लोमा ८० हजार रुपैयाँ बढी ऋण

ओकेखबर संवाददाता १३ कार्तिक २०८०, सोमबार ०८:२७ मा प्रकाशित ( महिना अघि) ४३ पाठक संख्या

काठमाडौ। नेपालले तिर्न बाँकी सार्वजनिक ऋण साढे २३ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा भुक्तानी गर्न बाँकी वैदेशिक तथा आन्तरिक ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो । यो गत असारको तुलनामा सवा ५५ अर्बले बढी हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार असार मसान्तसम्ममा तिर्न बाँकी ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँबराबर थियो । चालू आवको पहिलो त्रैमासमा ५५ अर्ब २४ करोड रुपैयाँ ऋण थपिएको हो । यस अवधिमा ५४ अर्ब ४७ करोड आन्तरिक र ७८ करोड रुपैयाँ वैदेशिक ऋण बढेको कार्यालयको तथ्यांक छ।

पहिलो त्रैमासमा सरकारले एक खर्ब ६ अर्ब ७८ करोड रुपैयाँबराबर ऋण लिएको छ । जसमा ९७ अर्ब ३१ करोड आन्तरिक र नौ अर्ब ४७ करोड वैदेशिक ऋण छ । साँवा फिर्ता हिसाब मिलान गर्दा यस अवधिमा सवा ५५ अर्ब रुपैयाँ ऋण थपिएको कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ । यसलाई आधार मान्दा प्रतिव्यक्ति ऋण दायित्व ८० हजार सात सय ३४ रुपैयाँबराबर पर्न जान्छ। अर्थात्, प्रत्येक नेपालीको थाप्लोमा ८० हजार सात सय सार्वजनिक ऋण देखिन्छ । तर, सरकारले राजस्व र अन्य आम्दानीमार्फत यस्तो ऋण भुक्तानी गर्छ । जनताले प्रत्यक्ष रूपमा सार्वजनिक ऋण तिर्नुपर्दैन। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।


सम्बन्धित खबरहरु