सिङमा हरियो रंग लगाइएका खसीबोका मात्र खरिद गर्न सरकारको सुझाव

ओकेखबर संवाददाता २९ आश्विन २०८०, सोमबार ११:१२ मा प्रकाशित ( महिना अघि) १२५ पाठक संख्या

काठमाडौं । सरकारले खसी–बोका र च्याङग्रा परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी-बोकाको सिङमा ‘हरियो’ रङ लगाउने भएको छ। यस्तै रोगी खसी-बोकाको सिङमा भने रातो रङ लगाइने भएको छ।

उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया सुरु भएको पशुसेवा विभागका महानिर्देशक उमेश दाहालले बताए। विभागले पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै स्वस्थ्य खसीबोकाको सिङमा ‘हरियो’ र रोगीलाई ‘रातो’ चिह्न लगाउने अभियान आइतबारदेखि सुरु गरिएको दाहालको भनाई छ।

कलंकी खसी बजार, बल्खु, कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल, रांगाबजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्जली खसीबजार, सल्लाघारी च्याङग्राबजार, बालाजु वाइपास नाका, लगनखेल, धापाखेल अकाशे धारा र सुकेधारा र चन्द्रागिरी(थानकोट० दाउरा डिपो, दहचोक मूलपानी चौर खसी बजारस्थित होल्डिङ तथा संकलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्न थालिएको छ।

खसीबोकाको स्वास्थ्य परीक्षणका लागि पशु स्वास्थ्यकर्मी र प्राविधिक गरी ५ देखि ७ जनाको टोली पठाएको उनले जानकारी दिए। टोलीले बजारमा आएका खसीबोकाको स्वास्थ्य कात्तिक ६ गते अर्थात् नवमीसम्म परीक्षण गर्नेछ। पशु चिकित्सकले बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण,मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमूनाको आधारमा अध्ययन गरेर स्वस्थ्य ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ।

उपभोक्तालाई दशैंमा स्वस्थ मासु उपयोग गर्न सिङमा हरियो रंग लगाइएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझावसमेत दिएको छ। बिक्री स्थलमा हरियो र रातो चिह्न हेरेर खसीबोका खरिद गर्ने व्यवस्था पनि गरिएको छ।


सम्बन्धित खबरहरु