घाइते पाइलट सेढाईँलाई थप उपचारका लागि भारत लगियो

ओकेखबर संवाददाता २८ आश्विन २०८०, आईतवार ०७:३३ मा प्रकाशित ( महिना अघि) ६१ पाठक संख्या

काठमाडौं । शनिबार भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईँलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

शनिबारदेखि काठमाडौँको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लगिएको हो। अस्पतालका अनुसार श्री एयरलाइन्सको चार्टर्ड उडानमार्फत सेढाईंलाई भारतस्थित नेसनल बर्न सेन्टर पुर्‍याइएको हो।

शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईँलाई उद्धार गरी उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो । उहाँको उपचार इमर्जेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डा सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

“उहाँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उहाँको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा दुर्घटना भएको थियो ।


सम्बन्धित खबरहरु