स्वास्थ्यवस्था बिग्रिदै गएपछि डा. केसीलाई धर्मशालाबाट अस्पताल सारियो, श्वास फेर्न पनि समस्या

ओकेखबर संवाददाता ४ आश्विन २०७७, आईतवार ०८:३३ मा प्रकाशित ( साल अघि) ४३१ पाठक संख्या

जुम्ला । चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा सत्याग्रह बसिरहेका डा. गोविन्द केसीलाई शनिबार मध्यरात कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सारिएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मध्यरात कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको हो । डा. केसीले अस्पताल भर्ना हुन नमानेपनि स्थानीय प्रशासनले सत्याग्रह बसिरहेको धर्मशालाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको छ ।

डा. केसीको छाती अत्यधिक दुख्न थालेको तथा श्वासप्रश्वासमा समस्या भइरहेको चिकित्सकको टोलीले जनाएको छ । त्यस्तै, पिसाबको मात्रा कम भइरहेको, रक्तचाप घटेको, मुटुको चाल अघिल्लो दिनभन्दा बढेको, कमजोरी, मांसपेशी बाउँडिने र रिँगटा लाग्ने समस्या देखिएको छ ।

स्लाइन चढाउनुपर्ने अवस्था आएको भएपनि डा. केसीले नमानेको र रगतमा चिनीको मात्रा न्यून भई शरीरका अंगहरूमा जटिल समस्या देखिन सक्ने चिकित्सकले जनाएका छन् । प्रतिष्ठानको टोलीले दैनिक तीनपटक स्वास्थ्य जाँच गर्दै आएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. प्रविण गिरी, डा.नुपमंगल समाल र सविता थापासहितको टोलीले डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको तत्काल अस्पतालमा सार्नुपर्ने सुझाव दिएको थियो ।


सम्बन्धित खबरहरु