अमेरिकामा कोरोनाविरुद्धको खोप अक्टोबरको अन्त्यसम्म दिने तयारी

ओकेखबर संवाददाता १९ भाद्र २०७७, शुक्रबार ०९:०६ मा प्रकाशित ( साल अघि) ६०७ पाठक संख्या

एजेन्सी । कोरोना संक्रमणको उच्च जोखिममा रहेका मानिसहरुलाई खोप दिनका लागि अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सरकारी अधिकारीहरुलाई निर्देशन दिएको छ ।

सीडीसीले अक्टोबर महिनाको अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोप सार्वजनिक रुपमा दिने तयारी थालेको हाे ।

कोरोनाविरुद्धको खोप दिन लागिएको यो तयारीलाई राजनीतिक महत्वकासाथ पनि हेर्न थालिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आफुलाई जिताउन आह्वान गर्दै कोरोनाविरुद्धको खोपको विकास र उत्पादनमा अर्बौं डलर खर्च गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

ट्रम्पको यही सार्वजनिक भनाई र खोप दिने सीडीसीको तयारीलाई राजनीतिक महत्वका साथ हेरिएको न्युयोर्क टाइम्सले जनाएको छ । कोरोनाविरुद्धको खोप अक्टोबर र नोभेम्बरमा सार्वजनिक रुपमा वितरण गर्न विभिन्न राज्यहरुलाई निर्देशन दिइएको सीडीसीका प्रवक्तले पनि स्विकारेका छन ।

यसअघि अमेरिकाका ५० राज्य र ५ ठूला शहरहरुमा कोरोनाविरुद्धको खोप दिन सीडीसीले सरकारी अधिकारीहरुलाई सम्पर्क गरेको न्युयोर्क टाइम्सले बताएको थियो ।

अमेरिकाका संक्रमण रोग विशेषज्ञ एन्थनी फाउचीले बताए अनुसार कोरोनाविरुद्धको खोपमा छुट्टा छुट्टै चरणमा ट्रायल चलिरहेको छ । उनका अनुसार खोपको प्रभावकारिताका बारेमा नोभेम्बरदेखि डिसेम्बरसम्म पूर्ण नतिजा आउने छ ।


सम्बन्धित खबरहरु