आइतवारदेखि ७ वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

ओकेखबर संवाददाता १४ बैशाख २०८१, शुक्रबार १९:०५ मा प्रकाशित ( हफ्ता अघि) ३३ पाठक संख्या

काठमाण्डाै – सरकारले पर्सि आइतवारदेखि सात वटा जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।

हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी ‘आम औषधि सेवन अभियान’ सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिनुभयो ।

यसअघि ती जिल्लामा ‘आम औषधि सेवन अभियान’ सञ्चालन गरे पनि अभियानको उद्देश्य पूर्णरूपमा सफल नभएपछि फेरि अभियान सञ्चालन गर्न लागिएको हो । अभियान दुई हप्तासम्म चल्नेछ । औषधि खुवाउन छ हजार जना स्वास्थ्यकर्मी र पाँच हजार आठ सय जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी छ ।

डा. मरासिनीका अनुसार सात वटा जिल्लाका एक सय एक वटा पालिकाका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य छ । दुई वर्षभन्दा माथिको उमेरका सबैलाई औषधि खुवाइने उहाँले बताउनुभयो । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने पनि निर्देशक डा. मरासिनीले बताउनुभयो ।

हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्रै रोगका लक्षण शरीरमा देखिने डा. मरासिनीले बताउनुभयो ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ वटा जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताउनुभयो । उहाँका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ ।

 


सम्बन्धित खबरहरु