काठमाण्डौ महानगरपालिकामा गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन काम चल्दै

ओकेखबर संवाददाता २४ बैशाख २०८१, सोमबार १०:०२ मा प्रकाशित ( हफ्ता अघि) २१ पाठक संख्या

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार ३५ हजार आठ सय ७५ अर्थात १५ प्रतिशत तथ्याङ्क सङ्कलन भइसकेको महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिनु भयो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाण्डौ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ गरिब घरपरिवार रहेको तथ्याङ्क छ । महानगरपालिकाले त्यही तथ्याङ्क अनुरुप एक जना सुपरिवेक्षकले १० जना गणकको जिम्मा लिने गरी २१ जना सुपरिवेक्षक र २०९ गणक खटाइएको तथ्याङ्क अधिकृत तिवारीले बताउनु भयो । उहाँले आउदो पाँच महिनाभित्र महानगरपालिकाका ३२ वटै वडाको तथ्याङ्क सङ्कलन काम सक्ने योजना रहेको बताउनु भयो । महानगरको सामाजिक विकास विभागका प्रमुख बिमला कोईरालाले गरिब घरपरिवार पहिचान गर्न विभिन्न सुचकलाई आधार मानेर गणना भइरहेको बताउनु भयो ।

परिवारको आकार, परिवारको शैक्षिक अवस्था, परिवारमा नीजि स्कुलमा अध्ययनरत बालबालिका, पारिवारीक औसत आयु, आम्दानीको स्रोत, परिवारमा आश्रित व्यक्तिहरुको सङ्ख्या, घरको स्वामित्व, घरको छाना, जगको प्रकार, घरमा भएको कोठाको प्रकार, कोठाको सङ्ख्या, पिउने पानीको उपलब्धता, शौचालको सुविधा र प्रकार, खाना पाउने इन्धन, बत्तीको स्रोत, गाडी, इन्टरनेट जडान, केवल टेलिभिजन, टेलिफोन, रेफ्रिजेरेटर लगायतका अवस्थाको आधारमा गरिब घरपरिवार छनोट गरिने महानगरपालिकाले जनाएको छ ।


सम्बन्धित खबरहरु