‘फास्ट ट्र्याक’ काे काम समयमै सकिने गरी संयाेजन गर्न सरकारलाई निर्देशन

ओकेखबर संवाददाता ७ बैशाख २०८१, शुक्रबार २०:१७ मा प्रकाशित ( हफ्ता अघि) १७ पाठक संख्या

काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाण्डाै–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले द्रुतमार्गको खोकना क्षेत्रमा देखिएको समस्या तुरुन्तै समाधान गरी निर्धारित समयमै आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र संयोजन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले तराई द्रुतमार्ग सडक निर्माण परियोजनाको चैत मसान्तसम्म ३३ प्रतिशत भौतिक र वित्तीय प्रगति भएको जानकारी गराउनुभयो । यस्तै नेपाली सेनाले निर्माण गरिरहेको चार वटा करिडोरमध्ये कर्णाली करिडोरको काम ८८ प्रतिशत सम्पन्न भएको, बेनिघाट–आरुघाट–लार्के भञ्ज्याङ करिडोरको ७० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

यसैगरी दार्चुला–तिङ्कर–तुषार पानी करिडोरको ६७ प्रतिशत काम सम्पन्न भएको, खाँदबारी–किमाथाङ्का सडकको ७० प्रतिशत काम भएको जानकारी गराउँदै ती सबै करिडोर निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको पनि नेपाली सेनाले जानकारी गराएको छ ।


सम्बन्धित खबरहरु