पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल : मन्त्री महत

ओकेखबर संवाददाता ६ माघ २०८०, शनिबार १५:३७ मा प्रकाशित ( महिना अघि) ८८ पाठक संख्या

नुवाकोट। अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पारेका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल भएको बताए ।

उनले भने, ‘सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेका छन् । हात–हातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् । हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे । मानिसहरू गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरूले छाडे । यो अत्यन्तै खतरनाक हो ।’

प्रतिबन्धित अवस्थामा पनि निर्भिक भएर पत्रकारितामार्फत आफ्नो कुरा राख्नु चानचुने कुरा नभएको उनले बताए । उनले भने, ‘विगतको पत्रकारिता स्मरण गर्दै लोकतान्त्रिक धारबाट होमनाथ दाहाल र वामपन्थी धारबाट मातृभूमि गोविन्द वियोगीले प्रकाशित गर्नुहुन्थ्यो । प्रत्येक साता यी दुई पत्रिका निस्केको दिन हेर्नैपर्छ ।’

दबाब र अप्ठ्याराका बाबजुद लोकतान्त्रिक मूल्य र मान्यता देशमा स्थापित गर्ने लक्ष्यका साथ उनीहरू लागेको मन्त्री महतले बताए । यस्तै विधिको शासन सुनिश्चित गर्नका लागि विषम परिस्थितिमा पनि निडर भएर उनले काम गरेको मन्त्री महतले स्मरण गरे । उनले भने, ‘यसैका आधारमा आज हामीले स्वतन्त्रता उपभोग गरिरहेका छौं भन्ने कुरा हामीले बिर्सन मिल्दैन ।’


सम्बन्धित खबरहरु