‘भूल भुलैया ३’ मा विद्या बालनको इन्ट्री हुने

ओकेखबर संवाददाता ३ माघ २०८०, बुधबार १५:२० मा प्रकाशित ( महिना अघि) ११४ पाठक संख्या

नयाँ दिल्ली । गएको वर्ष ठूलो पर्दा र ओटीटीमा कार्तिक आर्यनको भूल भुलैया २ निकै हिट रह्यो । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा कियारा आणवाणी देखिएकी थिइन् । साथमा तब्बु, राजपाल यादवलगायत कलाकारको पनि मुख्य भूमिका थियो । फिल्मको अर्को सिक्वेल भूल भुलैया ३ आउँदैछ ।

यो वर्ष फिल्म हलमा भूल भुलैया ३ हेर्न पाइनेछ । फिल्मको सुटिङ मार्चमा शुरु हुने बताइएको छ । फिल्ममा हिरोको रुपमा कर्तिक आर्यन नै देखिनेछन् । निर्देशक अनीस बज्मीको निर्देशनमा बन्न लागेको यो फिल्म अघिल्ला फ्रेन्चाइजी भन्दा धेरै रोमाञ्चक हुने बताइएको छ । फिल्ममा कयौं ट्विष्ट पनि हुने अनुमान गरिएको छ ।

पछिल्लो खबरका अनुसार विद्या बालन पनि यस फिल्मको हिस्सा बन्नेछिन् । फिल्ममा उनी मञ्जुलिकाकै रुपमा फर्किने बताइएको छ । सन् २००७ मा भूल भुलैयामा अक्षय कुमार, विद्या बालन र शाइनी अहुजाको दमदार अभिनय देखिएको थियो ।

भूल भुलैया ३ को हिरोइन भने अहिलेसम्म घोषणा भइसकेको छैन । केही खबरका अनुसार सारा अली खानलाई कार्तिकको साथमा देख्न पाइनेछ । तर मेकरहरुले हिरोइनका लागि केही अभिनेत्रीहरुसँग कुराकानी गरिरहेको बताइएको छ । अहिलेसम्म हिरोइनको नाम फाइनल भइसकेको छैन ।

मेकरहरुले विद्या बालनको अगाडि टिक्न सक्ने अभिनेत्री खोजिरहेको बताइएको छ । सबै कुरा सही भयो भने फेब्रुअरीसम्म फिल्मको फिमेल लिड भेटिन सक्ने बताइएको छ ।


सम्बन्धित खबरहरु