पूर्वमन्त्री थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण

ओकेखबर संवाददाता ५ मंसिर २०८०, मंगलवार २०:४४ मा प्रकाशित ( महिना अघि) ११८ पाठक संख्या

पूर्वमन्त्री एवं पूर्वराजदुत डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो ।

थापासहित सांसदद्वय स्वर्णिम वाग्ले र सुमना श्रेष्ठ तथा पत्रकारद्वय सुधीर शर्मा र हरिबहादुर थापाले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पण समारोहमा बोल्दै लेखक थापाले परिवार र सद्भाव राख्नेहरूको निरन्तर प्रेरणा र आग्रहमा पुस्तक लेख्न सफल भएको बताए । पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा काम गर्दाको अनुभव रहेको उनको भनाइ छ ।

पुस्तकमा व्यक्तिगत धारणा नभई आफ्नो व्यावसायिक जीवनको दौडानमा राष्ट्रको लागि महत्त्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरिएको थापाले बताए ।

वाग्लेले पुस्तक कर्तव्य, जिम्मेवारी तथा समाजिक आर्थिक पक्षको दस्तावेज भएको टिप्पणी गरे । ‘पुस्तकमा काजी खलकको कथा, कर्तव्य, दायित्वको सन्तुलन, पात्रहरूको विराट सम्बन्धहरूको कूटनीतिक व्याख्या छ,’ उनले भने ।

सांसद श्रेष्ठले भने आफूहरू जस्ता युवाका लागि देशको अतीतको ज्ञान दिन पुस्तक सहयोगी रहेको बताइन् । आफूले थापाबाट यस्तै अर्को पुस्तकको पनि अपेक्षा गरेको उनको भनाइ छ ।

शर्माले थापालाई राजाको मान्छे भन्ने गरिए पनि राजदरबारसँगै टसल परेको पनि देखिने बताए । पुस्तकमा आवश्यकताभन्दा बढाइचढाइ नगरिएको उनको भनाइ छ ।


सम्बन्धित खबरहरु