साहित्यकार श्रेष्ठ एक लाख नगदसहित पुरस्कृत

ओकेखबर संवाददाता ११ माघ २०८१, शुक्रबार १७:३० मा प्रकाशित ( महिना अघि) १०९ पाठक संख्या
बेनीका साहित्यकार अजयमिल श्रेष्ठलाई आज एक लाख नगदसहित पुरस्कृत गरिएको छ।

धनेश्वरी–तारानाथ स्मृति कोषले बेनी नगरपालिका–५ पुलाचौरस्थित जनकल्याण माविमा आयोजित कार्यक्रममा साहित्यकार श्रेष्ठलाई पुरस्कृत गरिएको हो।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, कोषका सचिव माधवप्रसाद रेग्मीले श्रेष्ठलाई विशिष्ट कविको रूपमा सम्मानसहित नगद एक लाख पुरस्कार प्रदान गरेका।

श्रेष्ठले अनुसन्धानमूलक लेख, रचना, कविता, गीत आदिमार्फत म्याग्दीको इतिहास, कला, साहित्यको संरक्षण र संवर्द्धनमा पुर्‍याएको योगदानवापत सम्मान गरिएको रेग्मीले बताए। पुरस्कृत साहित्यकार श्रेष्ठले स्व पण्डित तारानाथ रेग्मीको जीवन काव्यलगायत १५ भन्दा बढी पुस्तक प्रकाशन गरेका छन्।

कोषले पत्रकारतर्फ नेपाल टेलिभिजनका म्याग्दी समाचारदाता राकेश शर्मालाई १० हजारसहित सम्मान गरिएको थियो। साहित्यतर्फ बेनी नगरपालिका–५ का कृष्णबहादुर बानियाँलाई १० हजारसहित सम्मान गरेको छ।

शैक्षिक तथा धार्मिक व्यक्तित्व धनेश्वरी र तारानाथ रेग्मीको स्मृतिमा स्थापित कोषले हरेक वर्ष शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पुर्‍याउनेलाई सम्मान गर्दै आएको छ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, दाजुहरू मुकुन्द, नारायण, स्व। मोहन र रामप्रसाद रेग्मीलगायत परिवारका सदस्यहरूले १८ लाखको कोष स्थापना गरेका थिए।


सम्बन्धित खबरहरु