
हाल कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभर देशभरि नै मौसम अधिकांश बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानहरूका साथै अन्य प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यो क्रम राति पनि जारी रहनेछ, विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाले एक विशेष सूचना जारी गर्दै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्ने, भू-क्षय हुने, र सडक यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।