बानियाँको पहिलो मन्त्रिपरिषद् बैठक : आफ्नो तलबले गरिबलाई घर, विपन्नलाई छात्रवृत्ति

ओकेखबर संवाददाता २२ श्रावण २०८२, बुधबार ०७:५८ मा प्रकाशित ( महिना अघि) ११३४ पाठक संख्या
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार ग्रहणपछिको पहिलो मन्त्रिपरिषद् बैठकमार्फत महत्वकांक्षी निर्णयहरू गर्दै आफ्नो कार्यकालको सुरुवात गरेका छन् । मुख्यमन्त्री बानियाँले आफ्नो व्यक्तिगत पारिश्रमिकबाट निर्वाचन क्षेत्रभित्रका एक अति सीमान्तकृत चेपाङ परिवारलाई घर निर्माण गरिदिने घोषणा गरेका छन् भने बैठकले प्राकृतिक विपद् प्रतिकार्यदेखि विपन्न विद्यार्थीलाई छात्रवृत्तिसम्मका निर्णयहरू गरेको हो ।

मंगलबार मुख्यमन्त्रीको शपथ ग्रहणलगत्तै बसेको पहिलो बैठकले मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै उद्धार, राहत र प्रतिकार्यका लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा गठन हुने उक्त संयन्त्रले प्रदेशभित्रका सबै सरकारी निकायसँग समन्वय गरी तत्काल परिचालन हुनेछ । बाढी-पहिरोले घरबास गुमाएका नागरिकलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने र क्षतिग्रस्त सडकहरू संघीय सरकार र स्थानीय तहसँगको समन्वयमा तत्काल मर्मत गरी यातायात सुचारु गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको छ । त्यसैगरी, आर्थिक अभावका कारण स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा हासिल गर्नबाट वञ्चित जेहेन्दार विद्यार्थीहरूलाई निश्चित मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गर्ने, अति विपन्न तथा वनकरियाजस्ता सीमान्तकृत समुदायको उचित वासस्थान व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्ने र प्रदेशसभाबाट पारित संकल्प प्रस्तावहरूलाई तत्काल कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

मुख्यमन्त्री बानियाँसँगै मंगलबार ८ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । यद्यपि, मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । कांग्रेस संसदीय दलभित्रको आन्तरिक भागबण्डा नमिल्दा कांग्रेसले पाउने ८ मन्त्रालयमध्ये मुख्यमन्त्रीसहित ३ जनाले मात्र शपथ लिएका छन् । कांग्रेसबाट कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने शिवराज अधिकारीले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।

सत्तारुढ साझेदार नेकपा (एमाले)ले भने आफ्नो भागमा परेका ६ वटै मन्त्रालयमा मन्त्री नियुक्त गरेको छ । एमालेबाट मधुसूदन पौडेल (कृषि), जयराम थापा (श्रम), विन्दु श्रेष्ठ (उद्योग), दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार), किरण थापा (स्वास्थ्य) र भरत केसी (वन) मन्त्री बनेका छन् ।

कांग्रेसभित्र निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा र वर्तमान मुख्यमन्त्री बानियाँ पक्षबीच भागबण्डामा सहमति जुट्न नसक्दा ५ जना मन्त्री नियुक्त हुन बाँकी रहेको हो । केही दिनभित्रै विवाद मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।


सम्बन्धित खबरहरु