रुस-युक्रेन युद्धमा चीन र पाकिस्तानका ‘भाडाका सैनिक’ सामेल भएको जेलेन्स्कीको दाबी

ओकेखबर संवाददाता २१ श्रावण २०८२, मंगलवार ०८:४८ मा प्रकाशित ( महिना अघि) ७३२ पाठक संख्या
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस-युक्रेन युद्धमा चीन, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र अफ्रिकी देशहरूका ‘भाडाका सैनिक’ हरू पनि संलग्न रहेको गम्भीर दाबी गरेका छन् । देशको पूर्वी मोर्चामा खटिएका युक्रेनी सैनिकहरूले दिएको रिपोर्टको आधारमा जेलेन्स्कीले यो सनसनीपूर्ण खुलासा गरेका हुन् ।

सोमबार देशको उत्तर-पूर्वी खार्किभ क्षेत्रअन्तर्गतको भोभ्चान्स्क मोर्चामा रहेका सैनिकहरूलाई भेटेपछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन् । उनले ५७औं ब्रिगेडका योद्धाहरूसँग भेट गरेको र मोर्चाको अवस्था, ड्रोन आपूर्ति र सैनिक भर्तीजस्ता विषयमा छलफल गरेको बताएका छन् ।

आफ्नो पोस्टमा उनले लेखेका छन्, ‘यस क्षेत्रमा रहेका हाम्रा योद्धाहरूले युद्धमा चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशहरूका भाडाका सैनिकहरूको संलग्नता रहेको रिपोर्ट गरिरहेका छन् । हामी यसको जवाफ दिनेछौँ ।’

जेलेन्स्कीको यो दाबीले रुसले विदेशी नागरिकहरूलाई आफ्नो सेनामा भर्ती गरिरहेको विषयलाई पुनः सतहमा ल्याएको छ । यसअघि पनि जेलेन्स्कीले रुसका लागि चिनियाँ लडाकुहरू लडिरहेको आरोप लगाएका थिए, जसलाई चीनले अस्वीकार गर्दै आएको छ ।

यसअघि अक्टोबर २०२४ मा सार्वजनिक रिपोर्टहरूले रुसी सेनालाई सघाउन हजारौं उत्तर कोरियाली सैनिकहरू युक्रेनमा तैनाथ गरिएको दाबी गरेका थिए । जेलेन्स्कीको पछिल्लो भनाइले युद्धको जटिलता र यसको अन्तर्राष्ट्रिय आयामलाई थप उजागर गरेको छ । आफ्नो भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले देशको रक्षाका लागि लडिरहेका सैनिकहरूलाई राजकीय सम्मान प्रदान गर्दै उनीहरूको बहादुरीको प्रशंसासमेत गरेका थिए ।


सम्बन्धित खबरहरु