दसैँका लागि ५० हजार खसीबोका उपत्यका भित्रिँदै

ओकेखबर संवाददाता २८ आश्विन २०८०, आईतवार ०७:५३ मा प्रकाशित ( महिना अघि) ३१७ पाठक संख्या

काठमाडौं। दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउने भएका छन्।

दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थामा करिब दुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जानेछ। उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने आकलन छ ।

दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार हाराहारीमा खसीबोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुमान छ। हाल बजारमा प्रतिकेजी जिउँदो खसी प्रतिकेजी ६६० देखि ६८० रुपियाँ सम्म पर्छ ।
देशका विभिन्न स्थानमा हुने स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुक भारत र चीनको तिब्बतबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गर्छन् । भारतबाट गैरकानुनी ढङ्गले पनि खसीबोका भित्रिने गरेको व्यवसायीको भनाइ छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्न लागेको छ । कम्पनीले विभिन्न जिल्लामा खसीबोकाको खरिद प्रक्रियासमेत सुरु गरिसकेकाले आइबार वा सोमबारसम्म उपत्यकामा आइपुग्ने जनाएको छ । खसीबोका आएको भोलिपल्टबाट बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । आठ करोड ३६ लाख रुपियाँ खसीबोका खरिद गर्नका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

सरकारले दसैँमा उपभोक्तालाई राहत दिन खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिएको छ। बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुलियत दिन प्रत्येक वर्ष छुटमा बिक्री गरिन्छ।


सम्बन्धित खबरहरु