विराटनगरका यी ६ ठूला अस्पतालका १७ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

ओकेखबर संवाददाता २६ श्रावण २०७७, सोमबार ०८:३८ मा प्रकाशित ( साल अघि) ५५६ पाठक संख्या

विराटनगर । कोरोनाको हटस्पट बनेको विराटनगरमा १७ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को राजधानी विराटनगरका छवटा ठूला अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

आइतबार दिउँसोसम्म विराटनगर महानगरपालिकामा २ सय ८२ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ जनाको मृत्यु भइसकेको छ भने ४३ जना कोरोनालाई पराजित गर्दै निको भएका छन । प्रदेश १ का दुई पीसीआर ल्याबमा फरक रिपोर्ट आएपछि परिवारले नै अन्तिम संस्कार गरेका विराटनगरका एक व्यक्तिको कोरोनाबाटै मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ ।

स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरका चार अस्पताल सिल भएका थिए । तीमध्ये दुईले सेवा सुचारु गरेका छन् । संक्रमण देखिएपछि सिल भएको विराटनगरको न्युरो अस्पताल, गोल्डेन अस्पताल, विराट नर्सिङ होम र मोरङ सहकारी अस्पतालमध्ये न्युरो र विराटले आकस्मिक सेवा सुचारु गरेका हुन् ।

विराटनगरको कोसी अस्पतालमा कार्यरत १७ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार संक्रमितमध्ये अधिकांश स्वास्थ्यकर्मी हुन् ।

अस्पतालका संक्रमितमध्ये एक डाक्टर, सात नर्स, तीन सफाइ कर्मचारी, दुई प्राविधिक र अन्य प्रशासनका कर्मचारी रहेका छन् ।  विराट नर्सिङहोमका सञ्चालकसहित १३ जनालाई कोरोना संक्रमण देखिएको थियो । जसमध्ये एक सेवाग्राही हुन् । तीन डाक्टर र पाँच स्टाफ नर्स छन् । अन्य प्रशासनका कर्मचारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।


सम्बन्धित खबरहरु