साेमवार सार्वजनिक बिदा

ओकेखबर संवाददाता २२ बैशाख २०८१, शनिबार ०९:०२ मा प्रकाशित ( हफ्ता अघि) २१ पाठक संख्या

हेटौँडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको पुष्टि गरेको हो । काठमाण्डौंको वसन्तपुरमा भव्य कार्यक्रमको आयोजनाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २४ गते बिहान ९ बजे प्रदेशभर कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषाको शुभारम्भ गर्नेछन् ।

कार्यक्रमको लागि बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यकों संयोजकत्वमा ३० सय ३ सदस्यीय विशेष समारोह समिति निर्माण गरिएको छ । समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघ संस्थाहरु र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुकाहरु सदस्य रहेका छन्।

सरकारको निर्णय अनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रन्जना)मा लेखिएका राखिने मन्त्री बज्राचार्यले बताए । प्रदेश सरकारले भाषा ऐन पारित गरेर राजपत्रमा प्रकाशन गरेपछि २४ गतेबाट ऐनको कार्यान्वयन हुने भएको कारण सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री बज्राचार्यले बताए ।

सरकारले गत वर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो।
राजपत्रमा प्रकाशित भएर पनि कार्यान्वयनमा आउन नसकेको ऐनलाई विशेष कार्यक्रमको आयोजना गरेर लागु गर्ने सम्पूर्ण तयारी सुरु भैसकेको उनको भनाई रहेको छ ।


सम्बन्धित खबरहरु