पशुपतिनाथकाे मन्दिर साउन महिनामा सुनसान

ओकेखबर संवाददाता २८ असार २०७७, आईतवार १२:४३ मा प्रकाशित ( साल अघि) ९६७ पाठक संख्या

काठमाडौं । चान्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा शिवका भजन, आराधनाका स्तोत्र घन्किएका छैनन् । कोरोना भाइरसको सङ्क्रमणका कारण चैत ११ गतेदेखि जारी गरिएको बन्दाबन्दीले पशुपति मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश निषेध गरिएको छ । असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि देशभरका प्रमुख मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात अझै बन्द छन् ।

अहिलेकै स्वरूपको बन्दाबन्दी पनि सरकारले साउन ७ गतेसम्म जारी रहने घोषणा गरेको छ । अन्य सबै क्षेत्रमा बन्दाबन्दी खुल्नेबित्तिकै पनि पशुपतिमा भक्तजनलाई स्वास्थ्य सुरक्षाका कारण प्रवेश गराउन नसकिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउनुहुन्छ । “असार १ गतेदेखि पशुपतिको मूल मन्दिरभित्र दर्शनार्थीलाई प्रवेश गर्न नदिइए पनि मुख्य मन्दिर बाहिरका भुवनेश्वरी, आर्यघाट, आर्यघाटपारिको क्षेत्रलगायत स्थानमा भक्तजन आउन दिइएको छ, भक्तजनले बाहिरबाटै दर्शन गर्न सक्छन्, अन्य क्षेत्र खुलेको चार÷पाँच दिनपछि कम्तीमा दुई मिटरको दूरी कायम गरेर मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश गराउने गरी कार्यविधि बनाएका छौँ”, उहाँले भन्नुभयो ।

मठमन्दिर, चैत्य, गुम्बा, बिहार, मस्जिद, चर्चजस्ता धार्मिकस्थलमा हुने भीडभाडबाट छिटो रोगको सङ्क्रमण फैलने भएकाले सचेतता अपनाइएको कोषले जनाएको छ । मन्दिर खुलिहाले पनि विशेष पूजा भने गराइने छैन ।


सम्बन्धित खबरहरु