नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन

ओकेखबर संवाददाता १४ बैशाख २०८१, शुक्रबार ०९:१७ मा प्रकाशित ( हफ्ता अघि) १६ पाठक संख्या

काठमाण्डौ – गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।

प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई त्यसको विवरण उपलब्ध गराउन दुवै निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

त्यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ ।

त्यस्तै, विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमणलगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी सङ्गठनलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई समयानुकूल परिमार्जनको गृहकार्यसमेत भइरहेको बताउनुभएको छ ।


सम्बन्धित खबरहरु